कविता · Poem

मेरो बा

२०२६ अगस्ट ६

झुण्डिएको छ काँटीमा एउटा पुरानोथोत्रो कोट टाँगिएका छन् भित्तामा भेटिएजति आस्थाका भगवानहरु वर्षौ वर्ष सखारै पूजा गरिँदा पनि जो कहिल्यै बोलेनन् र खुसी भएनन् बासँग पिताम्बरमा बाँधिएका वर्षौका पुराना किताव र पात्राहरु जो अव खोलिंदैनन् कहिल्यै ।

दापमा भुत्तिदै गएको खुकुरी खिईएका कोदाली र फालीहरु देशको स्वतन्त्रताझैँ चुँडिन आँटेको हल्लुँड प्रजातन्त्र रुपी बजाउँदा बजाउँदै फाटेको डमरु देशको अर्थतन्त्रजस्तै लुटदा लुटदै घोटदा घोटदै सकिन लागेका राता र सेता र गोपी चन्दन अनुहार छोपिएका भगवानका धुमिल तस्वीरहरु पवित्र गीता, महाभारत, रामायण वर्षौँदेखि हजारौँ मन्त्र जपिएको छिन्न आँटेको सङ्घीयताजस्तै दानाको माला जनैका डोराले बाँधिएको फ्रेम भाँचिएको लिपुलेक जस्तै सेतो चश्मा काला भाटामा एकफेरो चुँडिदै गएका स्वतन्त्रताका जुइनाहरु बाउको चिनो हेर्दै मूल खाँबोको काँटीमा झुण्ड्याइएको कालो कोटको खल्तीमा जब हात घुसारेँ आधा मुठी पोखिएको खैनी अस्पष्ट बाको सुगन्ध एकै पटक ठोक्किए मेरो नाकमा सुम्सुम्याउँदै पहिरिएँ इष्टकोट धमिलो प्रकाशमा ठ्याक्कै म बा देखिएँ ।

औँशीका रातमा पहिचान गुम्न लागेको जूनतारा देखिने जन्मघरमा जब बास बसेँ रातभरि आँखाबाट यादहरु बगिरहे गुन् गुन गुन गुन् गुन् गुन् आवाजहरु गुञ्जीरहे आमाले सोध्नुभयो कोसँग बोल्दै छस् हँ ? बा बोलेझैं सुन्छु त ?