फड्के ढुङ्गो
२०२६ अगस्ट ७
युगौँको इतिहास पात्ले घारिको सिरानमा घामको ताप शीतका कहर खपेर पल्टिएको छ गजधम्म पाखोबारी र गैरी खेत रखबारी गर्दै कालो अजङ्गको फड्के ढुङ्गो जहाँ गोठालाहरु सिँयाल ताप्छन् हाक्पारे गाउँछन् कटुस खान्छन् र बाघचाल खेल्छन् खेतालाहरु खाजा खान्छन् बाख्राहरु जीवन उग्राउँछन् गाई गोरुहरु ढाड कन्याउँछन् युवा युवतीहरु अडेस लागेर चुम्बन साट्छन् केटाकेटीहरु लुकामारी खेल्छन् गाउँलेहरु संसारी माईको पूजा गर्छन् अहिले त्यो युगको इतिहासलाई साक्षी राखेर भएको छ अनेक फ्याक तथापि मध्यराततिर अँगालिन्छ रे जमिन हल्लिनेगरि लुगलुग कामेर आँसु चुहाउँछ रे नियतिलाई सराप्दै उहिले पहाडको चुचुरोबाट विश्व नियाल्थ्यो रे सवैभन्दा अग्लो मै हुँ भन्थ्यो रे आफुमाथि उभ्याएर सबैलाई उचाईमा पुर्याउँथ्यो रे सायद प्रारब्ध होला माथिकोले पनि तल झर्नु पर्ने साच्चै तल झरेपछि माथि चढ्न कति गाह्रो हुन्छ हँ ? फुटेपछि जोडिन कत्ति साह्रो हुन्छ हँ ? अहिले म तिम्रै चोइटामाथि उभिएको छु र एकीकरणको इतिहास पढ्दै छु ।