Muktak

मुक्तक

चार हरफभित्र जीवनको तीतो–मीठो निचोड बोकेका मुक्तकहरू।

कालो ! शून्यमा शून्यसरी, बिलाउनै पर्छ हामीले मानव भएको आभास त, दिलाउनै पर्छ हामीले फगत तिमीलाई मात्र हैन, दुख भएको संसारमा जता फाटे नि जीवन यो, सिलाउनै पर्छ हामीले ।

— जीवन

२०२६ अगस्ट ६

निरास निरास पराजित मनमा पनि, म झिनो आशामा हुन्छु निष्पट्ट अन्धकार पछिको सुनौलो, उज्यालो प्रकाशमा हुन्छु चाँडो, अति चाँडो बाहिर निस्कुँ भन्छु, सांसारिक झमेलाबाट झन्झन् झन् किन म भ्रमित ? जीवनको गहिरो भासमा हुन्छु ?

— जीवनको भास

२०२६ अगस्ट ६

कठोर प्रकृतिको दुर्घटनामा, जीवन सधैँ त्रास बन्छ जव क्षितिजमा उदाउँछ सूर्य, उमङ्ग र आस बन्छ जतिसुकै अहम बाँचोस मान्छे, यो प्राकृत धराधाममा हार्दै हार्दै जीवन, क्रमशः यही प्रकृतिको दास बन्छ ।

— प्रकृतिको दास

२०२६ अगस्ट ६

घमण्ड र क्रोध होइन जुक्ति चाहिएको छ परहित र मानब सेवा मुक्ति चाहिएको छ क्रोधको ज्वालामा डढेर अङ्गार नै नबन न न्यानो स्पर्शमा मधुमय सूक्ति चाहिएको छ ।

— चाहिएको छ

२०२६ अगस्ट ५

शापित छु, फुल्छु रातभरी, मरेर पनि रोएको छैन सिउँडी हूँ म तातो मरुभूमिमा, सरेर पनि रोएको छैन जीवन आयाम दुईढुङ्गा बीचको तरुल भइ बाँच्दै छु जिउँदाहरू किन रुन्छन्? मार्‍यौ, मरेर पनि रोएको छैन।

— बाँच्दै छु म

२०२६ अगस्ट ५

कृष्ण रोज्यौ उमेरभरी, कंस भेटिछौ त पाण्डव होइन दुर्योधनको, बंश भेटिछौ त घमण्डले फुलेकीथ्यौ, मूलखेत मेरो भनी भिरको पाटो पाखोबारी, अंश भेटिछौ त ।

— अंश

२०२६ अगस्ट ५

अहम् बाँच्न खोज्छ मान्छे, हराउँदै जान्छ तमासा नाच्न खोज्छ मान्छे, कराउँदै जान्छ मह संसार, हातपाउ छोडेर डुब्छ र पिउँछ भासिन्छ दलदलमा मान्छे, बर्बराउँदै जान्छ ।

— मान्छे

२०२६ अगस्ट ५

देशको अनुहार हेर्छु, धुजा परेको छ आमाको अनुहार हेर्छु, मुजा परेको छ लुट्नेहरु चौरासी व्यञ्जन लुटिरहेछन् जनताको भागमा सधैँ, भूजा परेको छ ।

— देशको अनुहार

२०२६ अगस्ट ५

गन्तव्यमा पुग्ने एउटा पाटो खोज्दै छु बुद्धको देशको थोरै माटो खोज्दै छु बलभद्रको नालापानी पथ रोज्नलाई लिपुलेकमा लुटिएको बाटो खोज्दै छु ।

— माटो

२०२६ अगस्ट ५

पाउ सग्ला छन् दास नबन न हिम्मत खडा छ लास नबन न चाकडीमा लाज लजाएर रोयो बाँचेकै छौ त छिः आस नबन न ।

— दास नबन

२०२६ अगस्ट ५

मिति सकिएको, खुनजस्तो भएको छु चामलमा लाग्ने, घुनजस्तो भएको छु गीतका अन्तरामा सुमधुर बन्न खोजेँ उदास आइतबार, धुनजस्तो भएको छु ।

— निराशा

२०२६ अगस्ट ५

पहाड पल्टियो थिचिएको छु छिमेकी दाउमा मिचिएको छु पवित्र भूमिमा झाँगिन सकिन दुई ढुङ्गाको तरुल किचिएको छु ।

— पहाड पल्टियो

२०२६ अगस्ट ५

तिखो काँडा नघोचन, भित्र कतै घाउ दुख्छ दोस्रो दर्जा नसम्झन, भित्र कतै छाउ दुख्छ नारी–पुरुष बराबरी, कोही छैन तल–माथि, पहाडले किचेको छ, उठ्न खोज्छु पाउ दुख्छ ।

— नारी–पुरुष बराबरी

२०२६ अगस्ट ५

जुनकिरी जतिमात्र भएपनि, अन्धकारमा बल्न पाए हुन्थ्यो दुष्मनलाई त्यो सिमापारै भ्रमै भ्रममा, छल्न पाए हुन्थ्यो वीरताको इतिहासमा धेरै छन् सुकर्म, मेरो प्यारो देशमा सहीद भै बरु यतै कतै, त्यो लिपुलेकमा ढल्न पाए हुन्थ्यो !

— बल्न पाए

२०२६ अगस्ट ५