लघुकथा · Short Nepali Story

वकपत्र

२०२६ अगस्ट ५

दुखी अनुहार भएको थोत्रो फुटबलको जलरङ चित्र

‘‘पुर्पुरो पनि कस्तो अभागी । जन्मदा पनि खप्परमात्र मात्र लिएर जन्मेछु । हात, खुट्टा न शरीर ।’’ भकुण्डो बोल्यो ।

‘‘त्यसैले त गुड्न र उड्न पाएको छस्, विश्वभरि छाएको छस् खुसी हो न ।’’ सिठी दाइले थप्यो ।

‘‘के गर्नु सिठी दाइ, अरू त हातले कुटाई खान्छन् । आफु त बुट लाएको लात्तले बजारिनु परेको छ । वल्लो र पल्लो छेउ । मरिसकेपछि पनि मुक्ति पाइएन । टुक्रा टुक्रामा विभक्त हुनु । काटिनु, घोचिनु, सिलाईनु, नक्कली भुँडी हालेर फुलाइनु, रङ्गी चङ्गी बनाइनु अनि अरूलाई खुसी पार्न बुटका लात्तले हिर्काइनु । बन्दुकको गोलीझैँ गएर गोलपोस्टभित्र छिर्नु, लाखौँलाई खुसी पार्नु, हजारौँलाई रूवाउनु यो मेरो कस्तो जन्म र भाग्य ? देख्छु र सुन्छु अझ म भन्दा सानो त्यो मेरो क्रिकेटबल भाइलाई कस्तो भएको होला ? मुङ्ग्राले पिटिनु पर्दा, भाग्य पनि कस्तो विचित्रको हुन्छ ! तर मेरै अस्तित्वमा फिफा वल्र्ड कप इउफा युरो, कोपा अमेरिकन एफ्कन्, एसियन कप र विश्वका थुप्रै क्लबहरूले उत्सवका रूपमा मलाई खेल्छन् । रातभरि नसुति मलाई नियाल्छन् । मेरो खेल र व्यापारबाट करोडौँ कमाउँछन् । यसबेला मानिसको खुसीमा भने म लात्ती र बुटको पीडा पनि विर्सन्छु ।’’ फुटबलले गुनासो पोख्यो ।

‘‘अरूलाई दुःख दिएर आफु रमाउनु, पनि खेल हुँदो रहेछ ? गोलपोष्टमा छिर्न सकिन त किन रूनु ? म नछिरेको हुँ र ? उसले छिराउन नसकेको न हो, मलाई किन सराप्नु । छेउ, तल, माथि, कुनो, सिधा, बाङ्गो जहाँबाट पनि मैले छिर्नै पर्ने ? अनगिन्ती चोट खाएर पनि गुड्नै पर्ने, आकासिनै पर्ने, गोल भएर खुसी बाँड्नै पर्ने, अनि सबै नगद पुरस्कार, पदक र कपहरू खै मेरा हुन सके ?’’ विद्रोहको उच्च स्वरमा फुटबल जङ्गियो ।

‘‘संसारमा हलुको हुन नहुने रहेछ । नामले के गर्नु ? मैले जति चोट कसले भोगेको होला ? गोल ! गोल ! गोल ! संसार गोल ! विजयमा एक चुम्बन अनमोल ।’’