लघुकथा · Short Nepali Story

रङ

२०२६ अगस्ट ७

हामी समुद्री किनारमा भेट भयौँ । जुलु मुसुक्क मुस्कुराई । ऊ एक्लै थिई । म नजिक गएँ । ‘‘हाई जुलु !’’ मैले हात उठाएँ । ‘‘तिमी यता आऊ न मेरो राजा ।’’ उसले नेपाली बोलेको देखेर म छक्क परेँ । ‘‘तिमीले आज होली खेलेनौ ?’’ उसले जिज्ञासु भावले सोधी, हामी दुबै जाम्बिया युनिभर्सिटीका भूगोल विषयका डिग्रीका अन्तिम वर्षका विद्यार्थी थियौँ ।

‘‘कोसँग खेल्ने होली ? तिमीसँग खेल्न मन छ । मञ्जुर ?’’ जिस्किने भावमा म बोलेँ । ‘‘इन्डियन केटीहरू छ नि होली खेल्ने । ऊ पर हेर त, खेल्दै छ ।’’

‘‘नाईँ म तिमीसँगै खेल्ने ।’’

‘‘कसरी खेल्ने हामी कालो मान्छेसँग ? हामी कालो छ, तिमीहरू गोरो छ । थाहा छ तिमीलाई त्यो नीलो समुद्रमा नुहाउने हाक थिएन हामीलाई । आझै छाइन, हामीलाई मान्छेहरू हेला गर्छ कालो भनेर । हामी दास हो रे कसैको । साच्चै भान्छौ भने मालाई रङहरूसँग घृणा छ । अझ कालो रङसँग । मलाई कालो इतिहाससँग घृणा छ । म मेरो हिस्त्री के भान्छ इतिहास बदल्न चाहन्छु ।’’ जुलु भावुक भई ।

‘‘म तिमीलाई साँच्चै मनले माया गर्छु । आऊ जुलु होली खेलौँ । यो संसार प्रेमको रङै रङ त हो नि । रङहरूको रङ्गमञ्च । जीवन आकाशमा देखिने धुवाँको रङजस्तो न हो कति छिटो विलय हुन्छ । कहाँ जान्छ ? मान्छेको मन सफा हुनुपर्छ, कालो गोरोले केही फरक पार्दैन । तिम्रो रङलाई होइन, म भावना र विचारलाई माया गर्छु । अझ तिम्रो भिक्टोरीया फल्स हेर त कस्तो स्वर्गजस्तो ।’’ म जुलुलाई फकाइ रहेको थिएँ ।

जुलु उत्साहित भई ‘‘बम र बारूदको गन्धे कालो धुवाँबाट टाढा बुद्ध जन्मेको देशमा लैजान सक्छौ नि, पवित्र सगरमाथाको देशमा, साँच्चि जीवनभार माया गार्छौ तिमी ? अनि तिम्रो परिवार समाजले के गार्छ ? स्वीकार्छ मालाई ? ठीक छ म तिमीसँग मायाप्रेम गर्छु, बिहा गर्छु, जीवन काट्छु, तर हाम्रो सन्तानमा कालो जीन आउनु हुँदैन नि ! दिन सक्छौ ?’’