कथा · Story

दोष

२०२६ अगस्ट ५

‘‘यो कोठामा मेरो प्यारो नाति बस्छ ।’’ हजुरबा जेठो नातिलाई असाध्यै माया गर्दै भन्नुहुन्थ्यो ।

नजिक पर्ने हुनाले काजक्रिया सकेकै दिन अस्तु सेलाउन हामी बराहक्षेत्रतिर लाग्यौँ । झमक्क साँझमा घर आइपुग्दा घरभित्र कोठामा चर्को आवाज सुनियो । घरभित्र छिर्दा बुवाको कोठा आधुनिक रूपमा झकमक्क सिँगारिएको थियो । बुबाको झल्को आउने कुनै सामान त्यहाँ थिएनन् ।

महादेव, कृष्ण, दुर्गा, हनुमान, कालीमाताका ठाउँमा भित्ताभरि अर्धनग्न तस्वीरहरू टाँगिएका थिए । आफूले देख्दै नदेखेका डरलाग्दा झ्याप्लेहरू मुस्कुराइरहेका देखिन्थे । वर्षौँ पुजिएका श्रीमद्भागवत, गीता, रामायण, महाभारत र अन्य बहुमूल्य धार्मिक पुस्तकलगायत आफुले फुर्सदमा पढ्न भनेर जतनले राखिएका कुनै पुस्तकको नामोनिसान त्यहाँ थिएन ।

‘‘के हो यो पारा ? कसले यो सब गरेको ? दुई पैसाको ढङ्ग छैन तिमीहरूलाई धेरै जान्ने हुनुपर्छ ?’’ मैले छोरी नीरा र नरेशलाई प्रश्न गरेँ । छोरी नीरा डराउँदै बोली ।

‘‘भाइलाई सामानहरू नचला भन्दाभन्दै मैले भनेको केही मान्दै मानेन । अब हजुरबा नै नभएपछि हामीलाई किन चाहियो ती सामान फोहोरका थुप्रा भन्दै सबै सामान भर्खरै करेसाबारीमा लगेर मट्टीतेल खन्याएर आगो लाइदियो ।’’

म लुगा नै नफेरी हत्तपत्त बारीमा गएर हेरेँ । नमिठो कालो धुवाँ मडारिएर अटाइनअटाइ पुतपुताइ रहेको थियो । छेवैबाट बुवा बोलेझैँ लाग्यो ।

‘‘नातिलाई केही नभन्नू, हामीले समयमै उचित संस्कार दिन सकेनौँ । दोष तेरो र मेरो थियो ।’’ म टक्क जहाँको त्यहीँ उभिएर टोलाइरहेँ ।